साकेला नाच्दै किराँत समुदायले नखीपोटमा मनाए उभौली

‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व मनाएका हुन् ।

१७ वैशाख, काठमाडौं । किराँत समुदायले ललितपुरको नखीपोटमा साकेला नाँच्दै उभौली पर्व मनाएका छन् ।

‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व मनाएका हुन् ।

भूमि, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरको नखीपोटमा कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् ।

अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकुतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समूदायका अगुवाहरु बताउँछन् । प्रकृतिको पूजाआजा गरे बालीनाली सप्रने किराँत समूदायको धार्मिक विश्वास रही आएको छ ।

साकेला थानमा पितृभूमिको पुजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख र अन्नबाली भित्र्याउने बेला मंसिर पूणिर्मामा२ पटक दुई महिनासम्म मनाउने चलन छ ।

यसै अवसरका किराँत समुदायहरुले आपसमा सुःख, शान्ति र समृद्धिको कामनासहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन् ।

नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन् । उनीहरुले आफ्नो इतिहासलाई जोगाई राख्न पनि यो पर्वलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन् ।

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

किरात समुदायको साकेला उभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात आज सार्वजनिक बिदासमेत दिएको छ । आज किरात समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार