आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।
सोही विनाशकारी भूकम्पको स्मृतिमा आज काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा १०औ भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त स्मृतिसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 
‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि १०औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्छ।’
भूकम्पलगायत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

भूकम्पमा धरहरा पनि भत्किएको थियो । धरहरा भत्किएको १० वर्षपछि अहिले पुनर्निर्माण भएर सञ्चालनमा आइसकेको छ । सोही धरहराबाट १० वर्षपछि काठमाडौं नियाल्दा टुँडिखेल, सिंहदरवार, सैनिक मुख्यालय, दशरथ रंगशाला लगायतका प्रस्टैसँग देखिएका छन् ।

